Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर

सोमबार, असार १०, २०८१

काठमाडौँ - सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ । बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

बम्जन गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका- ६ स्थित निवासबाट पक्राउ परेका थिए ।

 बमजनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो । प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए ।

उनलाई सुरुमा सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो । सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सर्लाहीको मुद्दाको फैसला भएसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्