Nic Ad Nic Ad
Nic Ad Nic Ad
फैसला

अन्ततः लिटिल बुद्ध भनिने रामबहादुर बमजन बाल यौन दुराचारी ठहर, कति बर्ष सजाय?

मंगलबार, असार ११, २०८१

काठमाडौं– लिटिल बुद्धका नामले परिचय स्थापित गरेका रामबहादुर बमजनलाई बाल यौन दुराचारी ठहर गर्दै जिल्ला अदालत सर्लाहीले सजायको पेशी असार १७ गतेलाई तोकेको छ। 

आफूलाई तपस्वी दाबी गर्दै आएका बमजनलाई पूर्पक्षका लागि महोत्तरीको काराकारमा पठाइएको थियो। न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताएका छन् 

सरकारी अभियोजनकर्ताहरूले बमजनलाई १२ देखि १४ वर्षको जेलसजाय माग गरेका छन्। उनलाई कति बर्ष कैद हुन्छ भन्नेचाहिँ सजाय पेशीका दिन नै थाहा हुनेछ। 

तल्लो अदालतले दोषी ठहर गरेका बमजन यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि जान सक्छन्। उनले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

गत पुसमा प्रहरीले यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई पक्राउ गरी उनीविरुद्ध सुरुमा जाहेरी परेको सर्लाही लगेको थियो।

मध्यतराईको बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चाको चुलीमा पुगेका थिए।

त्यतिबेला १६ वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। तर पछि उनको नाम विभिन्न विवादमा मुछिन थाल्यो।

प्रहरीका अनुसार बमजनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी परेको थियो।

पाँच वर्षअघि सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका केही “अनुयायी“ त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा प्रहरीले छानबिन थालेको थियो।

त्योसँगै सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो।

२०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन एक व्यक्तिको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान थालेको थियो।
सर्लाही जिल्ला अदालतले बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजी तीव्र पारिएको थियो।

गत पुसको अन्तिम साता प्रहरीले बमजनलाई मोटो रकमसहित पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालिन प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यको अग्रसरतामा बमजन पक्राउ गरिएका थियो। 

उनको घरबाट तीन करोड नगद नेपाली रकम र केही विदेशी मुद्रा समेत फेला पारिएको थियो।
 

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्