Nic Ad Nic Ad
Nic Ad Nic Ad

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

मंगलबार, असार ११, २०८१

रामेछाप (मन्थली) - तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुङ्गालाई नदी वारपार गराई प्रथम हुन सफल भएका छन् ।  यसैगरी तीन मिनेट १२ सेकेण्डमा ओखलढुङ्गाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेन्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय  र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी  सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 

‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेण्डमा रामेछाप राताटारको समूह द्वितीय , दुई मिनेट ५१ सेकेण्डमा ओखलढुङ्गाले तृतीय र सुनसरी ‘ए’ले दुई मिनेट ५३ सेकेण्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेको थियो । 


उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधामा दुईजना र ‘डबल’ विधामा चार जनाको समूह रहेका थिए । प्रतियोगितामा रामेछाप सिन्धुली, दोलखा, सुनसरी र ओखलढुङ्गा जिल्लाका  खेलाडीको सहभागिता थियो । प्रतियोगितामा पाँच जिल्लाका डबल विधातर्फ २९ समूह र सिङ्गल विधातर्फ २६  समूहको  सहभागिता रहेको कार्यक्रम संयोजक नवराज माझीले जानकारी दिए। विजयी प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । 

उक्त खेलअन्तर्गत खेलाडीले प्रतिस्पर्धाका आधारमा डुङ्गालाई सेलेघाटस्थित तीन नदीको सङ्गम त्रीवेणीको वारि किनारबाट पारि पुर्‍याई पुनः वारि नै ल्याउनुपर्ने प्रावधान रहेको थियो । माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुङ्गा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष  प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतियोगिताको शुभारम्भ बागमती प्रदेशका खेलकुदमन्त्री रमा आलेले गरेका थिइन्  । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्