Nic Ad Nic Ad
Nic Ad Nic Ad

केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

मंगलबार, असार ११, २०८१

काठमाडौं- कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालत खारेज गरिदिएको छ ।

मंगलबार अन्तिम बहस सकिएपछि न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त रिट नै खारेज गरिदिएको हो ।

सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्किने सम्भावना थियो । तर रिट खारेज हुने फैसला आएकाले वर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले निरन्तरता पाएका छन् ।

कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाइएको थियो ।

पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका थिए । तर सर्वोच्चले उनको जिकिरलाई अस्वीकार गरिदिएको छ ।

कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका थिए । केदारको रिट खारेजीमा परेसँगै अब त्यहाँ हिक्मत नेतृत्वको वर्तमान गठबन्धन सरकारले निरन्तरता पाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्