Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको छानबिन समितिको निष्कर्ष

मंगलबार, असार ११, २०८१

जनकपुर - जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको निष्कर्ष निकालेको छ ।

गत जेठ २८ गते जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर अजयकुमार यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले ठेकेदारले अनियमितता गरेको निष्कर्षसहित आज प्रतिवेदन बुझाएको हो । 


समितिले धनुषाको बटेश्वर गाउँपालिका-१ स्थित बडहडी खोला उत्खननका लागि गाउँपालिकाले लगाएको ठेक्का सम्झौतामा उल्लेख भएको परिमाणको पाँच गुणा बढी गिट्टी बालुवा उत्खनन गरेको प्रतिवेदन प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । “छानबिन समितिले बुझाएको नापजाँचसहितको प्रतिवेदनमा सम्झौता विपरीत पाँच गुणा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ । अब बैठक बसेर के कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल हुन्छ”, प्रजिअ कडरियाले भने ।

बटेश्वर गाउँपालिका कार्यालयले गत फागुन ६ गते महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार चार सय ४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि रु २७ लाख नौ हजार एक सय तीनमा ठेक्का लगाएको थियो । ठेक्का सम्झौता अनुसार ठेकेदारले १५ जेठ २०८१ सम्म उक्त परिमाण उत्खनन गर्न पाउने थियो तर ठेकदार कम्पनीले योलगायत ३२ बुँदे सम्झौतामध्ये अधिकांश बुँदा पालना नभएका देखिएको छ ।

ठेकेदारले जेसिबी, स्काभेटरजस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिटसम्म गहिरो खाँडल बनाएर नदीजन्य पदार्थ उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा निरशपुर, विजयपुर र चित्रपुर बस्ती बाढी पहिरोको जोखिममा परेका छन् । 

सर्वसाधारणको गुनासोपछि गत जेठ दोस्रो साता प्रजिअ कडरियाले खोलाको अनुगमन गरी कारबाहीका लागि गाउँपालिका कार्यालयलाई पत्राचार गर्नुभएको थियो । जनप्रतिनिधि र पालिका कर्मचारीले चासो नदेखाएपछि गत जेठ २८ गते उनले जिल्ला समन्वय समिति धनुषाका इञ्जिनियर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

समितिमा बटेश्वर गाउँपालिका र हुलाकी सडक निर्देशनालयका इञ्जिनियर सदस्य छन् । समितिलाई खोलामा भएको उत्खननको नापजाँच गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्