Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थानीय तहका स्वास्थ्यकर्मीले ९ महिनादेखि पाएनन् तलब

बुधबार, असार १२, २०८१

भजनी (कैलाली) - कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा  कार्यरत  स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् ।  

जानकी गाउँपालिकामा  कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने  तलब भत्ताबापतको रकम नआएको गाउँपालिकाले जनाएको छ । 


स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा रु. एक करोड १४ लाख रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलब भत्ताका लागि रु. तीन करोड ४२ लाख आवश्यक पर्ने बताए। “आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलब भत्ता बुझेका थियौँ ।

 यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा पनि अझै तलब आएको छैन”, उनले भने, “वर्षको अन्तिम महिनासम्म पनि तलब आएको छैन, कर्मचारी निकै समस्यामा रहनुभएको छ ।”

गत वर्ष पनि गाउँपालिकामा दुई महिनाका लागि कर्मचारीको तलब अपुग भएको थियो । यो रकम पछि माग गर्दा असारमा आएको थियो ।  आउँदो आवका लागि पनि तलब भत्ता कम आएको स्वास्थ्य शाखा चौधरी बताए ।

सङ्घीय सरकारबाट समायोजन भएर गाउँपालिकामा कार्यरत प्रमोद कठरियाले नौ महिनादेखि तलब नपाउँदा घर व्यवहार चलाउन निकै मुस्किल भएको बताए ।  “बैंकको किस्ता सापटी मागेर तिर्नुपरेको छ । बालबालिकाको स्कुलको शुल्क तिर्न सकिएको छैन । किनेर खानुपर्ने बाध्यता हुँदा व्यापारीले विश्वास गर्न छाडिसक्यो”, उनले भने, “आयस्रोतको आधार त्यहीँ जागिर हो । त्यहाँबाट पनि यत्रो लामो समयसम्म तलब नपाएपछि घर व्यवहार चलाउन कठिन भइसकेको छ ।”

जानकीजस्तै गोदावरी नगरपालिकामा पनि स्वास्थ्यकर्मीले तलब भत्ता पाएका छैनन् । त्यहाँ पनि दरबन्दीभन्दा ३९ जना कर्मचारी बढी छन् । गोदावरीमा ५२ जनाको दरबन्दी रहेकामा ९१ जना कर्मचारी कार्यरत छन् । चालु आवमा दरबन्दी भएकै कर्मचारीको पनि रु एक करोड १३ लाख रकम कम आएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ,

स्थानीय तहको दोहोरो सहमतिमा स्वास्थ्य मन्त्रालयले दरबन्दीबिना कर्मचारी सरुवा गर्दा समस्या भएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावल बताउँछन् । “जनप्रतिनिधिले पहुँचका आधारमा आफ्ना मान्छेलाई घर पायक पार्न खोजेकै कारण समस्या भएको हो । 

कर्मचारी सरुवा गर्दा त्यो कर्मचारीको सबै सेवा सुविधा व्यहोर्ने सम्झौताअनुसार कर्मचारी दरबन्दी छाडेर आएको हो”, उनी भन्छन्, “आज स्वास्थ्यको तलब जहाँ दरबन्दी छ त्यहाँ गइरहेको छ तर कर्मचारी नहुँदा त्यहाँ गएको रकम खर्च भइरहेको छैन । जहाँ कर्मचारी समायोजन भएर आएका छन्, त्यहाँ पैसा पुगेको छैन ।”

टीकापुर नगरपालिकामा पनि १० जना कर्मचारी बिना दरबन्दी कार्यरत छन् । १४ जनाको दरबन्दी रहेकामा २४ जना कार्यरत छन् । सङ्घीय सरकारले स्वास्थ्यका कर्मचारीको तलब दिने स्थिति नभए स्थानीय तहले गरेको सम्झौताअनुरूप समायोजन भएर आएका कर्मचारीलाई तलब भत्ता दिनुपर्ने प्रमुख रावलले बताए। 

कैलालीका प्रायः सबै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा यो समस्या देखिएको छ । एक–दुई महिनासम्मको तलब अपुग भएका सबै पालिका छन् । देशभर स्थानीय सरकारको रोहबरमा समायोजन भएका करिब सात हजार कर्मचारी समस्यामा परेको रावलले बताए ।

केही पालिकाले आफ्नो स्रोतबाट अपुग तलब भत्ता व्यवस्थापन गरेको पाइएको छ । चालु आवमा भजनी नगरपालिकामा रु २८ लाख तलब भत्ताको बजेट कम आएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । उनका अनुसार  नगरपालिकामा ४० जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ३० जनाको मात्रै दरबन्दी छ । बाँकी १० जना समायोजन भएर आएका कर्मचारीको तलब यस वर्ष नगरपालिकाले आफ्नै स्रोतबाट भुक्तानी गरेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्