Nic Ad Nic Ad
Nic Ad Nic Ad
जीवन

नेपाललाई कराँतेमा पदक दिलाएका, गोदवा पाएका दाहाल कसरी भए जोगी?

बुधबार, असार १२, २०८१

काठमाडौं– प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ–कहाँ पुराउँछ भनेजस्तै भयो कराँतेका अन्तर्राष्ट्रिय खेलाडी रविन्द्र दाहालको जीवन। 

राजाबाट गोरखा दक्षिण बाहु (गोदवा) समेत पाएका उनै दाहाल जोगीको भेषमा भेटिएका छन्। उल्लिखित भए जस्तै उनलाई समयले पशुपतिनाथको शरणमा पुराएको रहेछ।

मङ्गलवार सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो। एलबी राई नामक फेसबुक प्रोफाइलबाट तस्बिरसहित एउटा मन छुने स्ट्याटस आयो। 
तस्बिरमा पशुपतिनाथ परिसरमा जोगीको भेषमा थिए, कराँतेबाट साफमा नेपाललाई मेडल दिलाउन सफल दाहाल। राईले उनीसँग तस्बिर खिचाएर फेसबुकको भित्तामा राखेका थिए।

सधैँ फुर्तिलो, एक्टिभ रहने, सुगठित शरीर, सबैलाई हसाइरहने, एउटा जोसिलो व्यक्तित्व तथा राष्ट्रको गहना रवीन्द्र दाहाललाई यो अवस्थामा देख्दा धेरैले दुःख व्यक्त गरेका छन्। 

कुनै समय राष्ट्रलाई प्रतिनिधित्व गरी जीवनको विभिन्न आरोहअवरोह, उतारचढाव पार गरिसकेपछि आज यो अवस्थामा पुग्नु राष्ट्रका लागि लाजमर्दो कुरा हो।

रवीन्द्र दाहाल ५ पटक राष्ट्रिय च्याम्पियन भएका थिए। सन् २००४ मा पाकिस्तानमा सम्पन्न नवौँ साफ गेममा उनले पदक जितेका थिए। उनले त्यहाँ दुई कास्य पदक जितेका थिए। 

रवीन्द्र सन् २०१० मा चाइनाको ग्वान्जाउ सहरमा भएको १६ औं एसियन गेममा पनि सहभागी भएका थिए। 

रवीन्द्र दाहालको मधुरो मुस्कानमा कति धेरै पिडा लुकेको छ उनको आँखामा प्रस्ट देख्न सकिन्छ। देशको लागि खेल्ने एउटा होनहार खेलाडीलाई परिस्थिति र बाध्यताले यो स्थितिसम्म पुराएको छ । वर्तमान समयमा सरकारले खेलाडीको महत्त्व नबुझ्दा कोही खेलाडी जोगी, केही खेलाडी ड्राइभर त केही खेलाडी विदेश पलायन हुन बाध्य छन्।

नेपालमा, देशको लागि केही गर्छु भन्नेहरू नै आज यस्तो अवस्थामा पुगेको कुराहरू बाहिरिँदा नेपालीहरू साह्रै भयवित साथै नेतृत्वसँग रुष्ट भएका प्रमाण फेसबुकमा गरेको कमेन्टबाट प्रस्ट हुन्छ ।
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्