Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा विवेकशील बन्न सक्ने महामन्त्री ढकालको निचोड, सभापति रविप्रति सांकेतिक प्रहार

बुधबार, असार १२, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले समिक्षा यात्राको प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदनमा पार्टी विवेकशील साझाको अवस्थामा पुग्ने ढकालको निचोड रहेको छ।

उपनिर्वाचनमा इलाम–२ मा रास्वपाको जनमत ध्वस्त भएपछि समिक्षा यात्रा गरिएको थियो। सोही समिक्षा यात्राको प्रतिवेदनमा उनले सभापति रवि लामिछानेलाई पनि सांकेतिक प्रहार गरेका छन्। 

उनले ‘म सहदेव बन्ने पक्षमा छैन’ भन्दै चुप लागेर नबस्ने पनि बताएका छन्। 

प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि यसलाई सार्वजनिक गर्नुपर्ने ढकालले माग राखेका छन्। 

उनले प्रतिवेदनमा लेखेका छन्,‘आज पार्टीको वर्तमान भनेको जनमत छैन। जनमत कति छ त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला। भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ।’

सभापति लामिछानेप्रति इङ्गीत गर्दै उनले श्रीकृष्णले सहदेवलाई दिएको श्रापको स्मरण गरेका छन्।

उनले भनेका छन्,‘सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो। तर त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए । त्यसैले महाभारतमा सबै थाहा भए पनि उनी चुप थिए। म सहदेव बन्दिन।’

उनले अहिलेको अवस्थाबारे सत्य तथ्य बाहिर ल्याउँदा या भन्दा आफूलाई महामन्त्री पदबाट हटाउन सक्ने आशंकाबारे पनि उल्लेख गरेका छन्। यसक्रममा भनेका छन्,‘मलाई हटाइन पनि सक्छ या मेरो महामन्त्री पदको मृत्यु हुन पनि सक्छ।’
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्