Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज  एसइईको नतिजा सार्वजनिक गरिँदै 

बिहीबार, असार १३, २०८१

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहान सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन सम्भव भएन र अब बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ । 

परीक्षाफल प्रकाशनबारे निर्णय गर्न बुधबार दिउँसो १ बजे सानोठिमीस्थित बोर्डको कार्यालयमा बोर्डको बैठक बसेको थियो । बैठकले बुधबार प्रकाशन गर्दा राति हुने भएकाले बिहीबार प्रकाशन गर्ने निचोड निकालेको हो । ‘सबैजसो तयारी भइसक्यो, अब प्रोसेसिङको काम मात्रै बाँकी छ, सिस्टममा प्रोसेसिङ गर्दा चार–पाँच घण्टा लाग्ने रहेछ,’ उनले भने, ‘(बुधबार) प्रकाशन गर्दा राति आठ–नौ बज्ने भयो, त्यसैले बिहीबार) बिहानै नतिजा प्रकाशन गर्छौँ ।’ उनका अनुसार बोर्डले यसपटकदेखि रातिको समयमा नतिजा प्रकाशन नगर्ने निर्णय पनि गरेको छ । 

१५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए । बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ । कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ ।

 बोर्डका अध्यक्ष शर्माका अनुसार प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्