Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

बिहीबार, असार १३, २०८१

काठमाडौं - नेकपा एकीकृत समाजवादीको आज सचिवालय बैठक बस्दैछ । दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठानिक दस्तावेजको टुंगो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।


उनका अनुसार आजको बैठकमा पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा हुनेछ ।


असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्नेछ ।
एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुईसय स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो ।

महाधिवेशनस्थलको व्यवस्थापन, सबै प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेतागण, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापनलगायत कामको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट गरेको छ ।

छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशतअर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।


 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्