Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसइईको नतिजा सार्वजनिक, ४८ प्रतिशतले मात्रै कक्षा ११ पढ्न पाउने

बिहीबार, असार १३, २०८१

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने छन् भने झण्डै ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ (एनजी) भएका छन् ।बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन्। परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। अर्थात् यी विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। परीक्षामा सहभागी मध्ये ५२.१४ प्रतिशत ले ननग्रेड (एनजी) ल्याएको बोर्डले जनाएको छ ।

 १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए । बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ । कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ ।

प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्