Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

बिहीबार, असार १३, २०८१

पोखरा -सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । 

मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए ।

उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।

माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्