Nic Ad Nic Ad
Nic Ad Nic Ad

१२ सरकारी कार्यालयका एक हजार ८४६ दरबन्दी घटाइयो

शुक्रबार, असार १४, २०८१

काठमाडौं - सरकारले कर्मचारीको दरबन्दी ठूलो सङ्ख्यामा घटाउँदै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्यलाई तीव्रता दिएको छ। अहिलेसम्म १२ कार्यालयका कर्मचारीको दरबन्दी घटाइएको छ।


संघीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, कार्यालयलगायतका संघीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउँदै सरकारले १२ वटा कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेको हो।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दरबन्दी पुनरवलोकनका क्रममा संघीय कार्यालयमा विभिन्न पदका गरी कुल ५३ हजार ३८२ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले एक हजार ८४६ दरबन्दी घटाएर ५१ हजार ५३८ दरबन्दी कायम गरिएको छ ।

अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग र कार्यालयका गरी १२ वटा कार्यालयको ओएनएम सम्पन्न भएकोमा कुल दरबन्दीमा ९४२ वटा प्राविधिक पदका दरबन्दी थप गरी दुई हजार ७८८ वटा अनावश्यक कर्मचारीको दरबन्दी घटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका संघीय मामिला महाशाखा प्रमुख एवं सहसचिव सुमन दाहालले प्राविधिक कार्यालयमा प्राविधिक कर्मचारीबाहेक अन्य कार्यालयका अनावश्यक दरबन्दी घटाएर ओएनएमलाई तीव्रता दिएको बताए ।

त्यस्तै जिल्ला समन्वय समितिका कार्यालयमा ७७ वटा पद, राष्ट्रिय तथ्याङ्क कार्यालयमा १२ वटा र महिला विभागमा १९ वटा दरबन्दी घटाइएको छ। शहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा मन्त्रालय र सिँचाइ विभागको ओएनएम सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। सरकारले निजामती कर्मचारीको कुल दबरन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएम गर्ने कार्यलाई तीव्रता दिएको हो।
आजको गोरखापत्र दैनिकमा समाचार छ,  ‘अहिले पनि कतिपय जिल्ला प्रशासन र मालपोत कार्यालयमा कर्मचारी अभाव छ, ती कार्यालयमा बढी कर्मचारी भएका कार्यालयबाट झिकेर पठाउन सरकारले ओएनएम गर्ने कार्यलाई तीव्रता दिइएको हो’, सहसचिव दाहालले भने।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्