Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालबीच द्वन्द्व छ? रास्वपाले बोलायो केन्द्रीय समिति

शुक्रबार, असार १४, २०८१

काठमाडौं– महामन्त्री मुकुल ढकालले पार्टीको अवस्था नाजुक रहेको भनी तयार पारेको प्रतिवेदनपछि एक प्रकारको चर्चाको केन्द्रमा छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।

३८ जिल्लाको भ्रमण गरी झन्डै २१ सय जना जनतासँग प्रत्यक्ष कुराकानी गरेर तयार पारेको प्रतिवेदनमा महामन्त्री ढकालले पार्टीको स्थिति राष्ट्रिय बन्ने भए पनि विवेकशील साझाको हविगतमा पुग्ने निचोडसहित प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। 

त्यसबारे छलफल गर्न र एउटा निर्णयमा पुग्नका निम्ति आगामी १९ गते केन्द्रीय समितिको बैठक पनि डाकिएको छ। 

प्रतिवेदनमा पार्टीका विषय मात्र नभएर महामन्त्री ढकालले आफ्ना निजी राजनीतिक विषयलाई पनि उल्लेख गरेका छन्। 

उनले आफूलाई त्रिकालदर्शी सहदेवको संज्ञा दिँदै जान्दाजान्दै र बुझेर पनि केही बोल्न नसक्ने अवस्थाको स्थितिमा राखिएको टिप्पणी गरेका थिए। 

पाण्डुको निधनपछि सहदेवले उक्त शक्ति प्राप्त गरे पनि कृष्णले श्राप दिएका कारण मौन बस्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका महामन्त्री ढकालले पुराना शक्तिसँगको समीकरण भन्दा पनि स्वतन्त्र मेयरहरूजस्तासितको सहकार्य अहिलेको आवश्यक कदम हुनुपर्ने उल्लेख गरेका थिए। 

महामन्त्री ढकालले प्रतिवेदनलाई भने उपसभापति डोरप्रसाद (डीपी) अर्यालले भने हलुका रुपमा लिएको विवरण सतहमा आएको छ। उनले महामन्त्री ढकालको त्यो निजी विचार रहेको र अहिले नै पार्टीको समीक्षा गर्ने बेला नभएको बताएको सतहमा आएको हो।

महाधिवेशन समेत गर्न बाँकी रहेको र दुई बर्ष मात्र पुगेको पार्टीको समीक्षा गर्ने बेला नभएको भन्ने अर्यालको भनाई अर्थपूर्ण छ। 

महामन्त्री ढकाल र उपसभापति अर्याल दुवै सभापति लामिछानेनिकट नेता हुन्। यी दुईबीचको आन्तरिक टकराब रहेको स्पष्ट देखिन्छ। ‘पार्टीमा मतभेद हुने अलग कुरा हो तर विवाद नै रहेको भन्ने संकेतका रुपमा दुवै जनाको टिप्पणी आएका छन्’, एक नेता भन्छन्,‘यस विषयमा पनि केन्द्रीय समिति बैठकमा कुराकानी हुनेछ।’

रास्वपाभित्रको आन्तरिक विवादका विषयमा अन्य नेताले भने अहिलेसम्म खुलेआम टिप्पणी गरिसकेका छैनन्। ‘जे हुन्छ केन्द्रीय समितिको बैठकमा हुन्छ हामी त्यहिँ कुरा गर्नेछौं’, अर्का नेता भन्छन्,‘आवश्कअनुसार पार्टीको समीक्षा पनि हुनुपर्छ र आन्तरिक विवाद या व्यक्तिगत तहमा नै त्यस्ता समस्या छन् भने त्यसको पनि उपचार गर्ने विधिका विषयमा कुरकानी गरी समाधान निस्कनुपर्छ।’
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्