अब नेपालीले क्युआर कोडबाट भारत र भुटानमा भुक्तानी गर्न सक्ने
काठमाडौं–नेपाली खाताबाट क्युआर कोडलगायत विद्युतीय माध्यमबाट भारत र भुटानमा मासिक एक लाख भारुसम्म भुक्तानी गर्न सकिने सीमा तोकिएको छ
अब नेपालीले भारत र भुटानमा क्युआर कोडमार्फत एक लाख भारुसम्म भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र संशोधन गर्दै भारत र भुुटानमा वस्तु तथा सेवाको खरिद गर्दा नेपालको क्युआर कोडलगायत डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
भारतीय रुपैयाँ सटही सुविधाअन्तर्गत यस्तो व्यवस्था गरिएको हो । नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा भएको खातामा आबद्ध व्यक्तिले क्युआर कोडलगायत विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी गर्न सक्नेछन् ।
राष्ट्रिय भुक्तानी स्विच सञ्चालनमा नआएसम्म बैंक तथा वित्तीय संस्थाले रिटेल पेमेन्ट स्विचअन्तर्गत यो सुविधा सञ्चालन गर्नुपर्नेछ । यसमा मासिक एक लाख भारुसम्मको सीमा तोएिको छ । तर, होटेल, हस्पिटल र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागू नहुने परिपत्रमा उल्लेख छ ।
यस्तै, नेपालबाट भारतीय कामदारले आफ्नो देशमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोडमार्फत पठाउने रेमिट्यान्सलाई पनि रिटेल पेमेन्ट स्विचमार्फत सञ्चालन गर्न बाटो खुला गरिएको छ । राष्ट्र बैंकले गत चैतमै नेपालमा कार्यरत भारतीय नागरिकलाई यहाँको मोबाइल बैंकिङ, क्युआर कोडलगायत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन बाटो खुला गरेको थियो । यहाँको मोबाइल बैंकिङ, क्युआर कोडबाट त्यहाँको बैंकको खातामा पैसा पठाउन मिल्ने सुविधा ल्याइएको छ । सोही कारोबारलाई राष्ट्रिय भुक्तानी स्विच नआएसम्म रिटेल पेमेन्ट स्विचबाट गराउन बाटो खुला गरिएको हो ।
यस्तो माध्यमबाट नेपालमा कार्यरत भारतीय कामदारले दैनिक १५ हजार भारु र प्रतिमहिना एक लाख भारु पठाउन सक्नेछन् । यसअघि उनीहरूले कार्डलगायत परम्परागत शैलीमा आफ्नो कमाइ अर्थात् रेमिट्यान्स पठाउने गरेका थिए । तर, गत चैतदेखि मोबाइल बैंकिङ र क्युआर कोर्डलगायत माध्यमबाट भारतमा रेमिट्यान्स खुला गरिएको छ ।
यस्तै, अब भारतमा कार्यरत नेपालीले नेपालको अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायकसँग सञ्चालन रहेको वालेटमा पनि सीधै रेमिट्यान्स पठाउन सक्नेछन् ।
यसअघि नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङमार्फत नेपालका वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा मात्रै रेमिट्यान्स पठाउन सक्ने व्यवस्था थियो ।