Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ नेताका नाममा १२ करोड बजेट छुट्याउने दबाब बालेनले मानेनन्, काठमाडौंको नगरसभा स्थगित

शुक्रबार, असार १४, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित हुनुको कारण खुलेको छ। विभिन्न वडाका अध्यक्षहरूले चार जना रािष्ट्र विभूति शहिदका नाममा नभई नेताका नाममा रहेका फाउन्डेशनका नाममा बजेट छुट्याउन दबाब दिएपछि महानगर प्रमुख बालेन शाहले नगरसभा स्थगितको घोषणा गरेका छन्। 

तीन घन्टासम्म कुराएर नआएको भनी कांग्रेस, एमालेलगायतका दलका वडाध्यक्षले हल्ला फिजाँए पनि उक्त विषयमा तथ्य नरहेको प्रमाण बालेनका स्वकीय सचिव भूपदेव शाहले प्रमाणसहित सार्वजनिक गरेका छन्। 

मदन भण्डारी स्पोर्टस एकेडेमीका लागि ३० लाख रुपैंया, वीपी कोइराला प्रतिष्ठान, पुष्पलाल स्मृति प्रतिष्ठान, गणेशमानसिंह प्रतिष्ठान, जीपी कोइराला प्रतिष्ठान, सुशील कोइराला प्रतिष्ठानका लागि एक करोड २० लाखका दरले रकम छुट्याउन दलका प्रतिनिधिले प्रमुख बालेनलाई दबाब दिएका थिए। 

यसैगरी रामराजाप्रसाद सिंह प्रतिष्ठान, गजेन्द्रनारायण सिंह प्रतिष्ठान, पोष्टबहादुर बोगटी फाउन्डेशन, शहिद प्रतिष्ठान नेपाल, शहिद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेशन नेपाल, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, प्रज्ञा स्मृति प्रतिष्ठानका निम्ति क्रमशः ७५ लाख रुपैंयाका दरले बजेट छुट्याउन वडाध्यक्षहरूको मिलोमतोको दबाब थियो। यसैगरी, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानकाका निम्ति ६० लाख गरी जम्मा १२ करोड १५ लाख रुपैंया पास गराउन नगरसभामा दलीय वडाध्यक्षको गठबन्धनले दबाब दिएको थियो। 

यस विषयमा भूपदेव शाहले प्रश्न उठाएका छन्। 

उनी सोध्छन्,‘नगरसभामा छलफल गर्नुपर्ने विषय किन बन्द कोठामा सहमति गर्नुपर्ने प्रिय दाईहरु? महालेखाले प्रश्न उठाएको विषय जसरी पनि राख्नै पर्छ भन्ने, यो नहुँदासम्म हल भित्र नछिर्नु र बैठक उपस्थितिमा हस्ताक्षर नगर्नु भन्ने। गणपुरक संख्या पुग्न नदिने अनि बैठकमा आएन भन्ने?’

यसअघि प्रमुख बालेनले नेताका नाममा नभई राष्ट्रिय विभूतिहरू चार शहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दका नाममा बजेट बिनियोजन गर्न सकिने बताएका थिए।

‘सहमतिको बाटो खोज्न चार सपूतहरुको नाममा विशेष कार्यक्रम बनाएर जाँउ भन्दा तपाइँहरु कोही नमान्ने, कोही फोन नै नउठाउने?’ यस विषयमा भूपदेवले लेखेका छन्,‘अब सचिवालयले पनि साझा धारण बनाएर सम्पूर्ण समन्वयन तपाइँहरुले छानेको एकजना नेताज्यूसँग मात्र गर भन्न खोज्नु भएको हो?’

यसअघि नै महानगर प्रमुख बालेनले यहि विषयको खुलासा गरेका थिए। तर, दलीय भागवन्डाका आधारमा बजेट बिनियोजन माग गरेका वडाध्यक्षले नगरसभा चल्ने स्थिति नै दिएका थिएनन्।

 


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्