Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशका धेरै ठाउँमा वर्षा र बाढी : सावधानी अपनाउन आग्रह

शनिबार, असार १५, २०८१

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

मध्य र पूर्वसहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बागलुङको गलकोटमा १०२ मिलिमिटर पानी परेको छ । ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ । दाङ, बाग्लुङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा लगायतका ठाउँमा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्वतको कार्किनेटा, पाल्पाको बल्ड्याङ्गढी, स्याङजाको पन्चमुल, सिन्धुपालचोकको मानेखर्क, बाँसखर्क र धाप, कपिलवस्तुको भगवानपुर र तौलिहवा, दाङको कोइलाबास र लालमटिया, बाग्लुङको गल्कोट, गुल्मीको मुसीकोट र भार्से र अर्घाखाँचीको आँपचौर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा ठूलो वर्षा मापन भएकाले ती क्षेत्र भइ बहने ससाना खोला तथा मझौला नदीमा बहाव बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकोले ती क्षेत्रमा हुनेले दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै स्याङ्जाको आँधी खोला जलमापन केन्द्रमा जल सतह उल्लेख्य बढेको र भिरकोट, वालिङ, भुमरे र अन्य तल्लो नदी तटीय क्षेत्रमा आकस्मिक बहावको जोखिम रहेकोले आज बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । कपिलवस्तुको कोइली नदी बनगाई जलमापन केन्द्रमा जलसतह उल्लेख्य रुपमा बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनले पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म नै मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवम् साना नदीमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले त्यसैअनुसार सावधानी अपनाउन एवम् पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई महाशाखाले अनुरोध गरेको हो ।

भोलिसम्म बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । यस्तै लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्