Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

‘ग्रे एरिया’मा रास्वपाको भविष्य, ‘रेड एरिया’मा महामन्त्री ढकाल

शनिबार, असार १५, २०८१

ढिलै भए पनि समिक्षा यात्राका नाममा एउटा प्रतिवेदन तयार पारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टीको भावी चित्ररेखाको विषयमा बहस छेडेका छन्। यो बहसले अनुशासन बिग्रियो भनेर उनलाई स्पष्टीकरण माग गरिएको छ। तर, सभापति रवि लामिछानेबाहेकले स्पष्टीकरण सोध्न नसक्ने उनको चुनौती छ। 

यो भयो प्रक्रियागत कुरा। तर, कन्टेन्ट के हो भने रास्वपाको राजनीतिक भविष्य र यसका महामन्त्री ढकालको अबको बाटो कस्तो हुने भन्ने नै हो। 

पार्टीमा हालीमुहाली गरिरहेका उनी कतै अन्य नेता हावी भएका कारण चिढिएका त होइनन्? अथवा उनमा यथार्थताको आत्बोध भएर प्रतिवेदनमा सत्य कुरा लेखेका हुन्? यी दुवै विषयको अल्पकालिन अथवा दीर्घकालिन असर के हुन सक्छन् भन्ने नै अहिलेको चर्चाको विषय हो। 

नेपाली राजनीतिमा रास्वपा ग्रे एरियामा छ। यो श्वेत यात्रामा छैन भने पूरै ढलिसकेको अवस्थामा पनि छैन। जसकाविरुद्ध नाराबाजी गरेर जनमत बटुल्यो उसैसितको अंकमालमा आलिङ्गन पार्टीको भविष्य के होला? भन्ने चित्ररेखा महामन्त्री ढकालले भने जस्तो पनि हुन सक्छ। अथवा, जुन स्थितिमा छ त्यहाँबाट फर्किएर नवीनतम र आफ्नै लयको थितिमा फर्किन पनि सक्छ। तर सहकारीदेखि विवादका चाङले बाहिर सुकिलो देखिए पनि भित्रभित्रै सिथिल छ। सांसदहरू मलिन छन्। नेता कार्यकर्ताहरूको आत्मबल गिर्दो छ र विकल्पको विषयमा नयाँ बहस पनि छेडिएकै छ। अझ, महामन्त्री नै एउटा बागी जस्तो भएर जनतामाझ प्रतिवेदनको सारलाई राखिरहँदा रास्वपा ग्रे एरियामा रहेको स्पष्ट हुन्छ। 

तर सभापति लामिछानेको एकाधिकारवाद चल्ने पार्टीमा महामन्त्री ढकालको भविष्यचाहिँ रेड एरियामा पुगिसकेको छ। पहिलो चरणमा पार्टीको प्रक्रियागत स्पष्टीकरणको पत्र पुगिसकेको छ। उनकै प्रतिवेदनका विषयमा छलफल गर्नका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बस्नुअघि नै स्पष्टीकरणको पत्र काटिनुको सारभूत हो– ढकालको राजनीतिक जिम्मेवारीमा प्रश्न उठिसकेको छ, उनलाई कारबाहीबाट कसैले जोगाउन सक्ला भने त्यो सभापति लामिछाने मात्र हुन्। 

तैपनि यति भन्न सकिन्छ कि ढकालको प्रतिवेदनको अर्थ हो– पार्टीभित्र सभापति हावी छन्। सत्य र सतहको बहस हुँदैन। भाग्यको खेलमा भविष्यको लेखाजोखा हुँदैन। सदनमा कुर्लिने सांसदको निजी विचार हुन्, पार्टीको विचारशून्यप्रायः छ। कुनै संगठन नभई व्यक्तिवादमा रास्वपा चलिरहेको छ। तर, भन्नलाई भनिन्छ– सामूहिक र प्रजातान्त्रिक निर्णय हुन्छ। 

अर्को कोणबाट विश्लेषण गर्दा ढकाल विस्तारै संस्थापनको विश्वासबाट टाढा हुँदैछन्। उनीभन्दा सभापतिको विश्वास अन्यप्रति बढी छ। पार्टीको सांगठनिक संरचनामा महामन्त्री ‘सेरेमोनियल’ अधिकारमा सीमित हुँदैछन्। अर्थात् उनको केही पनि चल्दैन, चल्ने अरुकै छ। यसको उदाहरण उपसभापति डीपी अर्यालले दिएको प्रतिक्रिया हो। अर्थात्, पार्टी त्यो अवस्थामा छैन, महामन्त्रीको प्रतिवेदन मनोगत हो।

जे होस् पार्टी गठनको दुई बर्षभित्र चुनावमा उन्नत नतिजा ल्याए पनि सत्तामा दुई पटक पुगिसक्दा विवादको चरम स्थितिमा पुग्नुले त्यहाँभित्र के चल्दैछ भन्ने बुझ्न सकिन्छ। स्थापित पार्टीलाई विस्थापित गर्ने होइन, पुरानाको थिचोमिचोमा रास्वपा ख्याउटे बन्न सक्ने स्थितिको प्रस्थानविन्दुका रुपमा महामन्त्रीको समिक्षा यात्रा प्रतिवेदनलाई बुझ्न सकिन्छ। 
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्