Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस

सोमबार, असार १७, २०८१

काठमाडौं -नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ । गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।

थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेकाले उनलाई थुनछेक बहसका लागि जिल्ला अदालत पेश गरिएको हो । आइतबार समय अभाव भएका कारण हुन नसकेको थुनछेक बहस आज हुन लागेको हो ।

प्रतीकलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ । त्यसअघि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।

रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपछि उनी फरार रहँदै आएका थिए । भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

गत वर्ष शरणार्थी प्रकरण सतहमा आएदेखि फरार रहँदै आएका झालाई भारतबाट पक्राउ गरी गत शुक्रबार काठमाडौं ल्याइएको बुझिएको छ । झाले सोही गिरोहका रामशरण केसीबाट दुई करोडको चेक लिएको प्रमाण प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्