Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाबाट राजदूतका लागि ७ जनाको सूची

सोमबार, असार १७, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भागबण्डामा परेको दुईजना राजदूतका लागि ७ जनाको अन्तिम सूची तयार गरिएको छ । पार्टीले राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत आव्हान गरिएकोमा २४० भन्दा बढी सुझावहरूबाट अन्तिम सात जनाको सूची तयार गरिएको पार्टीले जनाएको छ ।


रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाएको हो । अन्तिम सूचीमा रहेका व्यक्तिसँग आवश्यक छलफल गरी प्रस्तावित दुईजनाको नाम पेश गर्न पार्टी सभापतिले लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन् ।


यस समितिले संयुक्त राष्ट्र संघका लागि पूर्वस्थायी प्रतिनिधि (राजदूत) प्राडा जयराज आचार्यसँग आवश्यक परामर्श गर्ने बताइएको छ ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।

गत असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबन्डा भएको थियो । सो अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्