Nic Ad Nic Ad
Nic Ad Nic Ad
सरकार

सत्ता समीकरणमा हलचलः एमाले अध्यक्ष ओली बालुवाटारमा, कांग्रेस पदाधिकारी बैठक पनि

सोमबार, असार १७, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको चर्चासँगै सत्ता समीकरणमा हलचल मच्चिएको छ। 

शीर्ष नेतृत्व तहमा बाक्लो भेटघाट हुन थालेका छन् भने मुख्य दलका बैठकहरू डाकिएका छन्। 

सोमबार बिहान ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्नका लागि बालुवाटार पुगेका छन्। यस्तै आइतबार दिउँसो ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच वार्ता भएको थियो। तर ति वार्तामा के कस्ता विषयमा कुरा भएका थिए भन्नेचाहिँ खुलीसकेको छैन। 

शनिबार देउवा र आरजु राणा बालकोट पुगेर ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको विषय बाहिर आएको थियो। जबकि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन। 

यता देउवाले कांग्रेस पदाधिकारी बैठक पनि डाकेका छन्। बुढानिलकण्ठमा दिउँसो ३ बजे अहिलेका पदाधिकारीसहित पूर्वपदाधिकारी समेतलाई बोलाइएको छ। 
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्