Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली बाटोबाट एउटै समूहद्वारा ३० अर्ब ८२ करोडको सुन तस्करी, को–को हुन् नयाँ ‘गोरे’

सोमबार, असार १७, २०८१

काठमाडौं– डमी कम्पनी खडा गरी एउटै समूहले नेपाली बाटोबाट ३२ क्विन्टल सुन तस्करी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ। 

सोमबार पत्रकार सम्मेलन गरी सीआईबीले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको सुनाएको छ। 

थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको हो। यसमध्ये ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको छ।

यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ।
२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो। अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो।

२६२.७७८ किलो सुन तस्करी भएको निष्कर्षसहित प्रहरीले असोज ३१ मा २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरिएको थियो। 

दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो।

यसअघि साढे ३८ क्विन्टलसम्म सुन तस्करी भएको पनि सार्वजनिक गरिएको थियो। सनम शाक्य हत्या प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’को समूहे ३३ किलो सुन तस्करी गरेको विषय सतहमा आएपछि यस्तो विवरण बाहिर आएको थियो। 

६० किलो र भेपबाट तस्करीको विषय खुलेपछि सीआईबीले नयाँ निचोडसहितको विवरण निकालेको हो।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्