Nic Ad Nic Ad
Nic Ad Nic Ad

नुसरत फतह अली खान : मृत्युको २७ वर्षपछि एल्बम सार्वजनिक हुन लागेपछि यी गायक विश्वभरि चर्चामा छन् किन ?

सोमबार, असार १७, २०८१

पाकिस्तान र भारतसहित विश्वभरि चर्चा कमाएका गायक तथा कव्वाल नुसरत फतेह अली खानको सन् ९० को दशकको एक एल्बम उनको निधन भएको २७ वर्षपछि सार्वजनिक हुँदै छ। उक्त एल्बम ३४ वर्षअघि लन्डनको एउटा स्ट्यूडिओको भण्डारमा राखिएको थियो। यसलाई रिअल वर्ल्ड रेकर्ड्सले ‘चेन अफ लाइट’ नाम दिएको छ। कम्पनीका अनुसार यसमा चारवटा कव्वाली छन्, जसमध्ये एउटा यसअघि कहिल्यै सार्वजनिक भएको छैन।

एल्बम फेला पर्नुको पछाडि रोचक प्रसङ्ग छ। रिअल वर्ल्ड स्ट्यूडिओले सन् २०२१ मा आफ्ना पुराना रेकर्डिङ अर्को स्थानमा सार्ने काम नगरेको भए यो एल्बम अझै धेरै वर्षसम्म प्रशंसकहरूसम्म पुग्ने थिएन होला।


लाहोरको शाही इलाकाको नाम हीरामन्डी कसरी रह्यो?

तर पछिल्लो खबरसँगै संसारभरि रहेका नुसरत फतेह अली खानका प्रशंसकहरूले उक्त एल्बमका लागि व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्। नुसरत फतह अलीको स्वरको जादु यस्तो छ कि उनका प्रशंसकहरू एल्बम सार्वजनिक हुने मिति अर्थात्‌ सेप्टेम्बर २० लाई अहिलेदेखि सम्झेर बसिरहेका छन्।

नुसरत फतह अली खानको ४८ वर्षको उमेरमा सन् १९९७ मा निधन भएको थियो। साथै यो एल्बम यसै शताब्दीमा हुर्केको पुस्तालाई पनि नुसरत फतह अली खानको गायनसँग परिचित गराउने एउटा माध्यम बन्ने अपेक्षा गरिएको छ।

तर ३४ वर्षअघि रेकर्ड गरिएको कव्वाली यति वर्षपछि कसरी बाहिर आयो भन्ने प्रश्नको जबाफका लागि हामीले रिअल वर्ल्ड स्ट्यूडिओजलाई इमेल लेखेका थियौँ।

भारतीय चलचित्रमा प्रयोग हुन थाल्यो एआई, कस्तो प्रभाव पर्न सक्छ
बलीवुड चलचित्र अझै 'लिङ्गभेदी र पश्चगामी' सूत्रमा बन्छन्
“यो टेप भेट्टाएपछि हामी औधी खुसी भयौँ,” उसले भनेको छ।

उसो त नुसरत फतह अली खानको गायनको प्रशंसा गरेर साध्य छैन।

उनलाई गायनमा साथ दिएका र प्रशंसक समेत रहेका अमेरिकी गायक जेफ बकली यसरी प्रशंसा गर्छन्, “उनमा बुद्ध पनि छन्, भूत र पागल देवदूत पनि… उनको भरभराउँदो स्वरको तुलना अरू कसैसँग गर्न सकिँदैन।”

विदेशी कम्पनीमार्फत् एल्बम सार्वजनिक गरिने घोषणापछि धेरैले एउटा प्रश्न गर्ने गरेका छन्, विदेशीहरू आखिर नुसरत फतह अली खानका प्रंशसक कहिले र कसरी भए?

पश्चिममा उदयको प्रसङ्ग
रिअल वर्ल्ड स्ट्यूडिओजद्वारा जारी एउटा वक्तव्यका अनुसार पिटर ग्याब्रिएल र नुसरत फतह अलीबीच सन् १९८५ मा ‘वुम्याड’ फेस्टिभलपछि मित्रता भएको थियो।

नुसरतले पश्चिमा प्रशंसकहरूका अगाडि एउटा पूर्ण प्रस्तुति दिएको त्यो नै पहिलो अवसर थियो।

उनी प्रस्तुतिका लागि नौजना सम्मिलित एउटा कव्वाल समूह लिएर गएका थिए र एसेक्सको एउटा सानो टापुमा उनले प्रस्तुति दिएका थिए।

त्यहाँ पुगेका मानिसहरू अबेर रातिसम्म चल्ने सङ्गीत महोत्सवमा निकै रमाएका थिए।

उक्त ऐतिहासिक महोत्सवलगत्तै उनी अनुबन्धित भए, जहाँबाट उनको अन्तर्राष्ट्रिय ख्याति झन् बढ्दै गयो।

लता मङ्गेशकर: प्रसिद्ध भारतीय गायिकाको ९२ वर्षको उमेरमा निधन
बेथोभन: कान नसुन्ने हुँदा पनि कसरी सबैभन्दा प्रख्यात सङ्गीत रचना गरे
ग्याब्रिएलसँग नुसरत फतह हली खानले सन् १९८९ मा ‘प्याशन’ नामक एल्बममा पनि गीत गाए। यसलाई ‘द लास्ट टेम्प्टेशन अफ क्राइस्ट’ चलचित्रमा पनि प्रयोग गरियो।

ग्याब्रिएल भन्छन्, “मैले संसारभरि कैयौँ सङ्गीतकर्मीसँग काम गरेँ। तर ती सबैमध्ये सम्भवतः उनी मेरो समयका सबैभन्दा महान्‌ गायक नुसरत फतह अली खान थिए। स्वरमार्फत्‌ उनले गराउने अनुभूति असामान्य हुन्छ।”

“हामीलाई यो कुरामा गर्व छ कि अन्तर्राष्ट्रिय स्तरमा उनलाई परिचित गराउने काममा भूमिका निर्वाह गर्न सकियो। यो टेप पाएपछि हामीलाई निकै खुसी लागेको छ। यो एल्बममा उनी आफ्नो प्रतिभाको शिखरमा पुगेको महसुस हुन्छ।”

नुसरत फतह अली खानको ४८ वर्षको उमेरमा सन् १९९७ मा निधन भएको थियो इलियास हुसैन नुसरतका शिष्य थिए। उनले नुसरतलाई कव्वाली कार्यक्रमहरूमा सघाउँदै आएका थिए।

उनी भन्छन्, “सन् १९९० नुसरत फतह अली खानको करिअरको महत्त्वपूर्ण मोड थियो। त्यति बेला उनले पश्चिमा देशमा स्थान बनाइरहेका थिए। उनका लागि सबै कुरा आफसेआफ हुन थालेको जस्तो थियो।”

“उनी सधैँ चाहन्थे कि सङ्गीतमा नयाँ प्रयोग गर्न सकियोस् र एउटै किसिमको सङ्गीतमा सीमित रहन नपाइयोस्। उनका रेकर्डिङमा पनि यो कुरा स्पष्ट देखिन्छ।”

सन् २०२० को सेप्टेम्बरमा बीबीसीसँग इलियासले भनेका थि, “युरोप भ्रमणका क्रममा उनले 'अल्लाह हू, अल्लाह हू' गाउँदा पश्चिमाहरूले भाषा नबुझे पनि झुम्मिरहेका देखिन्थे। फ्रान्समा प्रशंसकहरूले उनलाई मिस्टर ‘अल्लाह हू’ भनेरै चिन्न थाले।”

जापानको फुकोउकामा एक पटक एउटा सङ्गीत महोत्सवमा प्रस्तुति दिँदा नुसरत फतह अली खानको स्वर र गायनबाट मन्त्रमुग्ध भई जापानीहरूले उनलाई “सिङ्गिङ बुद्ध” नै भने।

इलियासका अनुसार जापानमा साङ्गीतिक प्रस्तुति दिन हलमा प्रवेश गर्दा आआफ्नो सीटबाट उठेर मानिसहरूले नुसरतको सम्मानमा एक मिनेट मौनधारणसमेत गरेका थिए। युरोपमा नुसरत फतह अलीका थुप्रै शिष्य पनि थिए।
हराएको एल्बम कहाँ भेटियो?
रिअल वर्ल्ड स्ट्यूडिओजलाई हामीले यही प्रश्न सोधेकोमा इमेलमार्फत्‌ उसले त्यसबारे विस्तृत रूपमा जानकारी गरायो।

“सन् ९० को दशकको सुरुमा नुसरत फतह अली खानले रिअल वर्ल्ड स्ट्यूडिओजमा कैयौँ पटक रेकर्डिङ गराइसकेका थिए, जसमा पारम्परिक कव्वाली र माइकल ब्रूक तथा पिटर ग्याब्रिएलसँग गरेका सत्रहरू सामेल थिए।”

“तीमध्ये एउटा प्रत्यक्ष सत्रको रेकर्डिङ सार्वजनिक गरिएन र त्यसलाई रिअल वर्ल्ड टेप अर्काइभमा सुरक्षित रूपमा राखियो। वर्षौँसम्म त्यो त्यसै रह्यो। हालसालै हामीले हाम्रा टेप सङ्ग्रहलाई अर्को ठाउँमा लग्न खोजिरहेका थियौँ।”

“सो क्रममा एउटा टेप बक्स फेला पर्‍यो, जसमा नुसरत फतह अली खानको रेकर्डिङ भनेर लेखिएको रहेछ। त्यसमा भएका गीत यसअघि सार्वजनिक भएको थिएन। त्यो थाहा पाएर हामी निकै खुसी भयौँ।”

उनी भन्छन्, “एनलग टेपको प्रयोग निकै सतर्कतासाथ गर्नुपर्ने थियो। जब त्यसलाई एउटा बार डिजिटल फर्म्याटमा ल्यायौँ र रिअल वर्ल्ड स्ट्यूडिओजमा मिक्स गर्‍यौँ, तब पुष्टि भयो कि यसअघि त्यो गीत सार्वजनिक भएको रहेनछ।” “यो एल्बम फेला परेकोमा हामीलाई निकै खुसी लागेको छ। तर त्यो हामीसँगै रहेछ भन्ने कुरा सोच्दा आश्चर्य लाग्छ।”

सार्वजनिकमा ढिलाइ किन?
तस्बिरको क्याप्शन,नुसरत फतह अली खानको एउटा रेकर्डिङ हालसम्म सार्वजनिक नभएको भर्खरै पत्ता लागेको छ कम्पनीले उक्त रेकर्डिङ सन् २०२१ मै फेला पारेको थियो। तर सार्वजनिक गर्न किन यति लामो समय लाग्यो त? जबाफमा रिअल वर्ल्ड भन्छ, “टेपलाई उपयुक्त अवस्थामा फर्काउन, माइकल ब्रूकसँग सरसल्लाह गरेर मिक्स गर्न तथा एउटा पूर्ण कलाकृतिको रूप दिन समय लाग्यो।” “हामी यो कुरा निश्चित गर्न खोजिरहेका थियौँ कि यसलाई एउटा विशेष एल्बमको रूपमा सार्वजनिक गर्न सकियोस्।”

कम्पनीका अनुसार एल्बममा कुल ४२ मिनेटका चारवटा कव्वाली छन्। रिअल वर्ल्ड स्ट्यूडिओजका अनुसार उक्त कम्पनी नुसरत फतह अली खानको परिवारसँग निरन्तर सम्पर्कमा छ।

कम्पनी भन्छ, “हामीलाई आशा छ यो एल्बम र त्यसको सार्वजनिक हुने समयलाई लिएर जुन उत्सुकता देखिएको छ, त्यसले नुसरत फतह अली खानको विरासतलाई जीवित राख्नेछ।” “उनको सङ्गीत हरेक युगमा जीवित रहनेछ र त्यसको आकर्षणले आफूतर्फ तानिरहनेछ। हाम्रो लागि सबैभन्दा खुसीको कुरा के हो भने नुसरतको महत्त्व आज पनि उत्तिकै छ।”

साभार : बिबिसी

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्