Nic Ad Nic Ad
Nic Ad Nic Ad

सार्वजनिक लेखा समितिको टोलीद्वारा लुम्बिनी भ्रमण

सोमबार, असार १७, २०८१

काठमाडौँ -प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।

samridhi jewllers

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदिप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका हुन् ।


यसअघि आयोजित छलफलमा लुम्बिनी विकास कोषको अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरुयोजनाका विषयमा छलफल गरिएको थियो । छलफलमा बोल्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्नुपर्ने बताए ।

उनले कोषको ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउँदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले केञ्जो टाँगेले निर्माण गरेको लुम्बिनी गुरुयोजनाका बाँकी कामहरू सकेर गुरुयोजनालाई पनि समय अनुकूल बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी विकास कोषको वार्षिक आम्दानी निकै न्यून रहेको, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने बताए ।

त्यसैगरी टोलीले लुम्बिनी गुरुयोजनाका काम, लुम्बिनीको विद्युतीय बस सञ्चालन, विभिन्न विकास निर्माण लगायतका विषयमा चासो राखेको थियो । संसदीय टोलीसंग लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सरकारले गुरुयोजनाका लागि मात्रै त्यो पनि निकै न्यून बजेट छुट्ट्याउने गरेको बताए ।

उनले लुम्बिनीसँगै प्राचीन कपिलवस्तु तिलौराकोट दरबार, अस्तुधातु रहेको रामग्राम, मावली देवदहको विकासका लागि बजेट अभावले काम गर्न नसकिएको बताए ।

यस्तै, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले प्रस्तुति राख्दै लुम्बिनीमा कर्मचारी दरबन्दी (ओएनएम) भएपनि संरचना स्वीकृत हुन नसकेको बताए ।

भ्रमण टोलीमा संयोजक योगेशकुमार भट्टराईसहित प्रतिनिधि सभा सदस्यहरू अच्युत प्रसाद मैनाली, अमरेश कुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँड, मनिप झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सहभागी छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्