Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस–एमालेबीच सत्तासहकार्यको सहमति,एमालेले अर्थसहित नौ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने

मंगलबार, असार १८, २०८१

संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्तासहकार्यको सहमति भएको छ । संसद्को बाँकी कार्यकाल दुई दलले आधा–आधा सरकारको नेतृत्व गर्नेछन् । सुरुमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । 

शनिबारयता भएका शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि सोमबार मध्यरातमा दुई दल नयाँ गठबन्धन बनाउने सहमति भएको हो । मन्त्रालय बाँडफाँटदेखि प्रदेश सरकारहरूको भागबन्डासम्मका विषयमा सहमति जुटिसकेको स्रोतको भनाइ छ । तर, यस विषयमा दुवै दलका नेताहरू औपचारिक रूपमा केही बोलेका छैनन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच सत्तासहकार्यको सहमति भएको बताए । ‘सहमति भएको छ । मन्त्रालय बाँडफाँटलगायतका विषयमा छलफल जारी छ,’ लेखकले नयाँ पत्रिकासँग भने । स्रोतका अनुसार दुई दलबीच संविधान संशोधन गर्दै निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा पनि सहमति भएको छ । 

शनिबार बालकोट बैठकमा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई सत्तासहकार्यको औपचारिक प्रस्ताव गरेका थिए । त्यसयताका दुई दिनमा कांग्रेस र एमाले नयाँ सत्तागठबन्धन गर्न र ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । तर, दुवै दलका नेताहरूले मध्यरातिसम्म सहमतिको पूर्णपाठ गोप्य नै राखेका छन् । 

सहमतिअनुसार सुरुको डेढ वर्ष ओली र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने गरी दुई दलले शक्ति बाँडफाँट टुंग्याएका छन् । ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित नौवटा र गृहसहित कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको स्रोतको भनाई छ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्नेछन् । मधेश प्रदेशमा मधेशकेन्द्रित दललाई नेतृत्व दिने सहमति छ । 

नेताहरूका अनुसार दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको छ । कांग्रेस सभापति देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखकलगायत नेताका साथमा ओलीनिवास बालकोट गएका थिए । 

स्रोतका अनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित एक होटेलमा शक्ति बाँडफाँटका विषयमा सहमतिको मस्यौदा बनाएका हुन् । 

प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा बनाउने गरी संविधान संशोधन गर्ने सहमति छ । त्यसका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाइने स्रोतले जनाएको छ । 

मध्यरातमा सहमतिपूर्व नेताहरूका दिनभर दौडधुप थिए । कांग्रेस सभापति देउवाले पदाधिकारी बैठकमा दिएको अभिव्यक्तिले दुई पार्टीबीच सहकार्यको ढोका भने खुला भइसकेको प्रस्ट संकेत दिइसकेका थिए । दुई ठूला दलबीचको सहकार्यको सूचना पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि औपचारिक–अनौपचारिक रूपमा राजनीतिक भेटवार्ता बढाएका थिए ।


यस्ताे छ दुई दलबीच मध्यरातमा भएको सहमतिको खाका

कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजुसहित १५ असारमा बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेका थिए । त्यसयता भएका शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि कांग्रेस र एमाले सोमबार मध्यरातमा नयाँ गठबन्धन बनाउने सहमतिमा पुगेका हुन् ।

दुई दलबीच शक्ति बाँडफाँटमा पनि सहमति भइसकेको छ । ओली र देउवाको निर्देशनअनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहमतिको मस्यौदा र शक्ति बाँडफाँटका विषयमा गृहकार्य गरेका थिए ।

स्रोतका अनुसार सुरुमा ओलीको नेतृत्वमा सरकार बन्नेछ र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ । एमालेले अर्थसहित नौ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक सहमति छ ।

त्यस्तै, तीन–तीन प्रदेशको नेतृत्व पनि दुई दलले लिने तथा मधेश प्रदेश मधेशवादी दललाई दिने सहमति छ । तर, यसमा हेरफेर हुन सक्ने नेताहरूको भनाइ छ । यस विषयमा दुवै दलका नेताहरू औपचारिक रूपमा बोल्न चाहेनन् ।

त्यसैगरी, दुई दलबीच निर्वाचन प्रणालीलगायतका व्यवस्था संशोधन गर्ने पनि सहमति भएको छ । यस विषयमा सुझाव लिन पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सुझाव समिति एक नेताले बताए ।

सहमतिको साक्षी राष्ट्रपति 
दुई दलबीचको सहमतिलगत्तै मध्यरातमा कांग्रेस र एमालेका नेताहरू शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । शीतलनिवास स्रोतका अनुसार धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वानका लागि परामर्श गर्न नेताहरू शीतलनिवास पुगेका हुन् ।

धारा ७६(३) अनुसार आह्वान भएमा संसद्को ठूलो दल कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था रहन्छ । जसकारण एमालेले धारा ७६(२) अनुसार सरकार आह्वानको सुनिश्चितता खोजेपछि परामर्शका लागि नेताहरू शीतलनिवास पुगेका हुन् ।

कांग्रेसबाट सभापति देउवा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्र कार्की र आरजु राणा देउवा तथा एमालेबाट अध्यक्ष ओली, विष्णु पौडेल र शंखर पोखरेल राष्ट्रपतिसँगको भेटमा सहभागी थिए ।

एमालेले अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वास मत लिनुपर्नेछ । प्रधानमन्त्रीले राजीनामा दिए वा विश्वासको मत नपाए संविधानको धारा ७६ को २ अनुसार राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्