Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षा मन्त्रालयद्वारा विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

मंगलबार, असार १८, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ ।

मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेसा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ । वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेसाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयको दाबी छ । विद्यार्थीले पाउने छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिनुका साथै सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक हुने भएको छ ।

विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका असल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न सक्नेछन् । साथै वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई ‘करियर असेसमेन्ट’ मार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन् । वेबसाइटमा पेसा र रोजगारीका लागि जानकारी पाइने ईलर्निङका वेबसाइटहरू पनि राखिएको छ ।

यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले विभिन्न पेसामा स्थापित व्यत्तित्वहरुसँगको पेसाका सम्भावना र चुनौतीबारे बहस गरिएको युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ ।

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्ग निर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्ग निर्देशन वेबसाइट तयार गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्