Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

मंगलबार, असार १८, २०८१

काठमाडौँ - राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका स्थायी शिक्षकलाई साउन एक गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

किताबखानाले २०७९-८० को शिक्षकको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । २०७९ श्रावण १ गतेदेखि २०८० सार मसान्तसम्म सेवानिवृत्त भएका शिक्षकले समेत सम्पत्ति विवरण बुझाउनु पर्ने निर्देशन दिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।

सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूको आव २०७९–२०८० को सम्पत्ति विवरण नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ मिति २०६७ वैशाख ६ को नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनामा तोकिएको ढाँचा बमोजिमको सम्पत्ति विवरण फाराम भरी बुझाउनु पर्ने छ ।

स्थायी शिक्षकको आव २०७९/८० को सम्पत्ति विवरण दर्ता गर्न व्यक्ति स्वयम्ले (व्यक्तिगत रूपमा) राष्ट्रिय किताबखाना (शिक्षक) मा बुझाउने वा विद्यालय स्थानीय तहले संकलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईहरूमा बुझाउने र इकाईहरूले जिल्लाका सबै विद्यालय शिक्षकहरूको विवरण राष्ट्रिय किताबखाना (शिक्षक) मा दर्ता हुने गरी बुझाउनु पर्ने छ ।

विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा विवरण बुझाउनु पर्ने व्यवस्था छ । स्थानीय तहले सो सम्पत्ति विवरण दर्ता गरी सुरक्षित राख्नु पर्नेछ । 


 

प्रतिक्रिया दिनुहोस्