Nic Ad Nic Ad
Nic Ad Nic Ad

देश अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद आवश्यक : ओली

बुधबार, असार १९, २०८१

 

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् ।

ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको प्रष्ट्याए ।

उनले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’ राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उनको भनाइ छ ।

‘विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो’, ओलीले सम्झिए ।

एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी भएकाले मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूसँगको सहकार्यतामा उनले जोड दिए ।

संविधान साध्य नभएर साधन हो भन्दै ओलीले भने, ‘हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेँसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।’

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्