Nic Ad Nic Ad
Nic Ad Nic Ad

चन्द्रागिरि नगरपालकाले एनआइसी एसिया बैंकमा नगरभित्र जन्मिएका बालबालिकाको ५ हजारको मुद्दती खाता खोलिदिने

बुधबार, असार १९, २०८१

काठमाडौं – काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले नगरभित्र जन्मिएका बालबालिकाका लागि पाँच हजार रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार रूपैयाँ संकलन गरिदिने भएको हो ।  स्थायी बसोबास गरेका नगरबासीका सन्ततिका नाममा मुद्दती खाता खोलिदिई सो रकम संकलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ । बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ । चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक लिमिटेडका बीच मुद्दती खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।

नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एन आई सी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरी हस्ताक्षर गरे। सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गरिने नगरपालिकाले जनाएको छ । गएको वर्ष साउन १ गतेपछि जन्मिएका नगर क्षेत्रमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाका लागि चन्द्रागिरि नगरपालिकाले थानकोटमा शाखा रहेको एनआईसी एशिया बैंकमा खाता खोली एकमुष्ट जम्मा गरिदिने भएको हो ।

चन्द्रागिरि नगरपालिका निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा अनुदान सञ्चालन कार्यविधि २०७८ अनुसार बालबालिका १८ वर्ष पूरा भएपछि आर्थिक सामाजिक सुरक्षाका लागि यो कार्यक्रम लागू गर्न लागिएको मेयर घनश्याम गिरीले जानकारी दिए । उनले नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकले आफ्नो सन्तानको खातामा रकम थप गरी भविष्य सुनिश्चित गर्न आग्रह पनि गरे । 

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ संशोधन सहित २०८०० अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ । 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्