Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध यौन दुर्व्यवहारका चार उजुरी

बुधबार, असार १९, २०८१

काठमाडौँ- निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान विरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेका छन् । उनीविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको हो ।

स्रोतका अनुसार इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी छन् । अन्य उजुरी पनि सोही आरोपसँग सम्बन्धित रहेका छन् । नेपाल कानून आयोगको कार्यकारी निर्देशक हुँदा प्रधानले इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै ती महिलाले उजुरी दिएकी हुन् । समितिले प्राप्त उजुरीहरू समितिका सदस्यहरूलाई वितरण गरेको छ । बिहीबार समितिले उजुरीकर्तासँग छलफल गर्ने भएको छ । शुक्रवार प्रधानको सुनुवाइ छ ।

२४ भदौ २०८० मा पीडित महिलाले काठमाडौँ जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् । २९ भदौ २०८० मा अदालतमा दुवै पक्षबिच मिलापत्र भएको थियो । दबाब र प्रभावमा मुद्दा मिलापत्रमा टुंग्याएको भन्दै महिलाले प्रधानलाई निर्वाचन आयुक्त बनाउन उपयुक्त नहुने भन्दै समितिमा उजुरी दिएकी हुन् ।

असार २ मा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्