पहिरोले बेनी-जोमसोम सडकमा यातायातसेवा प्रभावित
म्याग्दी - म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ ।
सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घण्टौँसम्म जाममा पर्ने गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।’रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खा यामको सुरुआतसँगै सक्रिय भएका छन्’, बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घण्टा बैसरीको लाममा फसेको उनले भने, “अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुस्ताङको लेतेसम्म बर्खा यामको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ ।”
मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए । “पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ”, उनले भने, “हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।” रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताए ।
दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो । गत वर्ष बैसरीको पहिरोमा पुरिएर एक जना सवारी चालकको ज्यान गएको थियो । मङ्गलबार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा०२६च ७०५३ नम्बरको इको भ्यान पुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुुइठेभिरमा गुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो ।
पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाका अनुसार १४ वटा पहिरो छन् ।
“पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ”, उनले भने, “बर्खायाममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकलाई खटाएका छौँ ।”
सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरूप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो । बैसरी पहिरोको बुधबार स्थलगत निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रूपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी