Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

बिहीबार, असार २०, २०८१

नुवाकोट- जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ ।

samridhi jewllers

प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै त्रिशूली अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको छ । ‘ज्येष्ठ नागरिकमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने र उहाँहरूले रोगले नच्यापेसम्म जाँच गराउन नजाने पाइएकाले प्रशासनको सेवासँगै निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालिएको छ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता प्राप्तिको लागि राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको सङ्ख्या निकै बढेको छ । यही मौकामा उहाँहरूको प्राथमिक स्वास्थ्य उपचारसहित स्वास्थ्य परामर्श र थप उपचार आवश्यक पर्नेलाई त्रिशूली अस्पतालमा सिफारिस गर्न भनिएको छ ।’

जिल्ला प्रशासनको आग्रह र अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको उपचार सेवा सञ्चालनमा ल्याइएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाले जानकारी दिए । उनका अनुसार सहायता केन्द्रमा नर्स, स्वास्थ्य सहायक (एच ए), फार्मेसी तहका कर्मचारीबाट सेवा विस्तार गरिएको छ । 

आवश्यकताअनुसार माथिल्लो तहका स्वास्थ्यकर्मीसमेत उपलब्ध गराई सहायता केन्द्रको सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिइएको मेसु डा. लामाको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्