Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेलले सरकार आह्वान गर्नुअघि नै ओलीले प्रधानमन्त्रीमा माग दाबी गर्न सक्छन्, कारण यस्तो छ

बिहीबार, असार २०, २०८१

काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएको खण्डमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका लागि आह्वान गर्नुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा माग दाबी गर्न सक्ने बताइएको छ। 

बहुमतको सरकारका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुअघि आफूसँग स्पष्ट बहुमत रहेको ओलीले दाबी गरेर प्रधानमन्त्री पदमा नियुक्तिका लागि माग गर्न सक्नेछन् किनभने कांग्रेसको समर्थन उनीसँग छ। 

प्रतिनिधि सभामा कांग्रेसको ८८ र एमालेको ७८ सिट छ। दुवै दलको स्पष्ट बहुमतको संख्या १६६ पुग्छ। जबकि, बहुमतका लागि १३८ मात्र आवश्यक हुन्छ। 

संवैधानिक कानुनका ज्ञाताहरूका अनुसार अहिलेको अवस्थामा कांग्रेस–एमालेको सरकार बनाउने सहमति छ र ओली पहिलो कार्यकालका निम्ति आलोपालोको प्रधानमन्त्री बन्ने सम्झौता पनि छ। यस्तो अवस्थामा राष्ट्रपतिले आह्वान गरिरहनुपर्ने स्थितिअघि नै ओलीको माग दाबी हुन सक्छ र कांग्रेसले त्यसमा समर्थन गर्नेछ। 

‘राष्ट्रपतिले नयाँ सरकार गठनका लागि बहुमतको दाबी पेस गर्न आह्वान गर्नुअघि नै बहुमतको दाबी पेस गरेर ओलीजीले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने माग गर्न सक्नुहुन्छ,’ राधेश्याम अधिकारीले भनेका छन्।  

यदि दलहरूले बहुमतको दाबी पेस नगरेको अवस्थामा भने राष्ट्रपतिले निश्चित अवधि तोकेर बहुमतको दाबी पेस गर्न दिने अभ्यास पनि छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको सहमतिअनुसार यस्तो अवस्था आउने सम्भावना क्षीण छ। 

सदनमा बहुमत गुमाइसकेका प्रधानमन्त्री प्रचण्ड लामो समयसम्म पदमा रहनु उचित नहुने पनि सुझाव कानुनविदले दिएका छन्। यो नैतिकताको बर्खिलाप हुने उनीहरूको टिप्पणी रहेको छ।
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्