Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईजीहरू पेण्डुलम बनाएर सरुवा बढुवामा रवि लामिछानेको व्यापक हस्तक्षेपः मुकुल ढकाल

बिहीबार, असार २०, २०८१

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षक (आईजी)हरू पेण्डुलम बनाएर सरुवामा व्यापक हस्तक्षेप गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुलुकल ढकालले लगाएका छन्। 

बुधबार राती एक साताका लागि निलम्बन गरिएका उनले एक दिनका लागि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नियुक्तिमा पनि  लामिछानेको मनोपोली रहेको खुलासा गरेका छन्। गृह मन्त्रालयले पोषराज पोखरेललाई एक दिनका लागि एआईजी बढुवा सिफारिस गरेको थियो। 

एआईजी उमेशराज जोशी उमेर हदका कारण सेवा निवृत्त भएसँगै सोही ठाउँमा २० असारमा घर फर्किन लागेका पोखरेललाई सिफारिस गरिएको थियो। 

यस्तै निलम्बित महामन्त्री ढकालले प्रहरी उपरिक्षक (एसपी), प्रहरी नायब उपरिक्षक (डीएसपी)हरुको सरुवामा पनि लामिछानेले मनपरी गरेको आरोप लगाएका छन्। आफूमाथि पार्टीमा मनपरी गरेको भन्ने विषयको प्रतिवादको उदाहरण दिने क्रममा ढकालले यस्तो बताएका थिए। 

यति मात्र होइन रास्वपालाई पार्टीको अस्तित्वमा नभई सभापति लामिछानेको कम्पनीका रुपमा मात्र बुझाइने प्रवृत्ति भएको भन्ने ढकालको टिप्पणी थियो। यसको उदाहरणका रुपमा उनले गोर्खा मिडिया नेटवर्कको उदाहरण पनि पेश गरेका थिए। ‘गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा आफू ठिक तर अध्यक्ष जीबी राई गलत अनि पार्टीमा सभापति हुँदाचाहिँ महामन्त्री मुलुकल ढकाल खराब भन्ने पनि हुन्छ’, उनको प्रश्न थियो। 

आफूमाथि कारबाही भइसकेको जनाउँदै उनले केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले आफू मिडियाको खेलाडी रहेको बताएको पनि सामाजिक सञ्जालमार्फत सार्वजनि गरेका छन्। 

उनले भनेका छन्,‘अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा प्रमाण सहित यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ। आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म। सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्यो  भने लाइभ डिटेक्सन टेस्ट दिन पनि तयार छु।’
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्