Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाँकेमा चोर समाउन प्रहरीले चलायो गोली, प्रहरीसहित ३ जना घाइते

बिहीबार, असार २०, २०८१

काठमाडौँ - बाँकेमा चोरी मुद्दामा ६ वर्ष सजाय पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका-६ शिखनपरुवाबाट गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता एवं सूचना अधिकारी नारायण डाँगीले बताए ।
 

सरदारलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाउनुपरेको थियो ।

सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो ।

तर, स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेर उनलाई खोसेका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् ।

प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ ।

घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्