Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय जनगणनाको प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक

बिहीबार, असार २०, २०८१

काठमाडाै - राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ ।

जनगणनाको पूर्वतयारीदेखि सम्पन्न हुँदासम्मको सम्पूर्ण प्रक्रियाको अभिलेखीकरण, कामको विस्तृतीकरण, जनशक्ति आकलन, जनगणनाको लागत र व्यवस्थापन, सार्वजनिक खरिद, जोखिम व्यवस्थापन, जनसहभागितालगायतका विषयहरु समेटेर पुस्तक तयार पारिएको कार्यालयले जनाएको छ । जनगणना सञ्चालन गर्दा प्रारम्भदेखि अन्त्यसम्म हासिल गरिएका अनुभव र सिकाइले भावी जनगणनाका लागि ऐतिहासिक आधार र नीति निर्माता एवं निर्णयकर्ताका लागि पथ प्रदर्शन हुने भएकाले यो ऐतिहासिक दस्ताबेजका रुपमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए । “जनगणनाका क्रममा असल अभ्यास पछ्याउने र कमी कमजोरी हटाउँदै जानका लागि यो महत्वपूर्ण दस्तावेज हो । हाम्रो संस्थागत संस्मरण (इन्सिच्युसनल मेमोरी) कमजोर भएको अवस्थामा भावी दिनमा काम गर्न सहयोग हुने अपेक्षा छ”, पोखरेलले भन्नुभयो, “मुलुकको समग्र विकास र सेवा प्रवाहका लागी जनसाङ्ख्यिक तथ्याङ्कले ठूलो योगदान गर्छ । नीति निर्माताका लागि तथ्याङ्क सबैभन्दा पहिलो र महत्वपूर्ण आधार हो ।”

नेपालको जनगणनासम्बन्धी संस्थागत सिकाइ र अध्ययन अनुसन्धानका लागि पनि यो पुस्तक उत्कृष्ट दस्तावेज रहेको उहाँको भनाइ छ । जनगणनाका लागि प्रश्नावली निर्माण, तालिम सञ्चालन, स्थलगत तथ्याङ्क सङ्कलन, समय र लागतआदिको प्रभावकारिता मूल्याङ्कन गर्न र भविष्यमा सञ्चालन गरिने जनगणनाका लागि आधार दस्तावेजको रूपमा रहने अपेक्षा कार्यालयले गरेको छ । त्यस्तै, जनगणनाको पैरवी र प्रचारप्रसारसम्बन्धी रणनीति, समन्वय संयन्त्र, विकास साझेदारहरूको संलग्नता, नतिजाको सार्वजनीकरणलगायत बारे यस पुस्तकले जानकारी दिनेछ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्