Nic Ad Nic Ad
Nic Ad Nic Ad

समालोचक डा. रामजी तिम्सिना ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेर बेपत्ता

शुक्रबार, असार २१, २०८१

इटहरी : इटहरी निवासी डा. रामजी तिम्सिना बेपत्ता भएका छन् । उनी बुधबार (असार १९) गते बिहानदेखि बेपत्ता भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।’ लेखेर बेपत्ता भएका हुन् । उनले लेखेको त्यो चिर्कटो मुनि ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।

पारिवारिक स्रोतका अनुसार तिम्सिना बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय इटहरीमा ‘खोजी गरिपाउँ’ भनेर निवेदन दिइएको छ । घरका अरू कोही परिवार उठ्नु अगावै उनले चिर्कटो लेखेर कम्प्युटर नजिक राखेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

खोजी कार्यका लागि परिवारले अपिल गरेका छन् । तिम्सिना आफैँ सवारी चलाउँदैनथे । उनी खासगरी सार्वजनिक सवारी र अटो, सफारी प्रयोग गर्थे । बिहानको समय भएकाले, कहाँ, कसरी गए भन्नेबारे पनि अन्योल रहेको पारिवारिक स्रोतको भनाइ छ ।

तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा अध्यापन गर्थे । उनका शुभचिन्तकहरूले पनि खोजी कार्य गरिदिन अपिल गरेका छन् । उनी खासगरी समालोचनामा रूचि राख्थे ।

इटहरीसहित पूर्वमा भएका विभिन्न साहित्यिक, वैचारिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी जनाउँदै आएका तिम्सिना विभिन्न पुस्तक तथा अन्य विषयमा पनि आफ्नो समालोचना प्रस्तुत गर्दै आएका छन् ।

उनी आश्चर्यचकित ढंगबाट बेपत्ता भएपछि शुभचिन्तकहरूले चिन्ता प्रकट गरेका छन् ।

यता, प्रहरीले भने खोजी कार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले तिम्सिनाको खोजी कार्य भइरहेको जानकारी दिए ।

‘हामीले हिजो रातभरी पनि खोज्यौँ, अहिले बिहानैदेखि खोजी कार्यका लागि टोली खटिएको छ,’ एसपी रेग्मीले भने, ‘कतै बसेको अवस्था छ कि भनेर पनि खोजी भइरहेको छ ।’

उनका अनुसार सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको छ । त्यहाँ रहेका सीसी क्यामेरा पनि नियालिरहेको, सबै सीसी क्यामेरा हेरिने र थप खोजी गरिने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्