Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

आइतबार प्रधानमन्त्री पदबाट प्रचण्डको ‘राजीनामा’ 

शुक्रबार, असार २१, २०८१

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पदबाट राजीनामा दिने प्रक्षेपण गरिएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेले सहमति गरी केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निधो गरिसकेका छन्। प्रतिनिधि सभाको बैठक आइतबारका लागि राखिएका कारण प्रचण्डले सम्बोधन गरेपश्चात राजीनामा दिने बताइन्छ। 

यद्यपि उनले विश्वासको मत लिने र सदनलाई फेस गर्ने बताएका थिए। प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि सदन फेस गर्ने निर्णय गरेको थियो। 

तर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका प्रधानमन्त्री प्रचण्डले राजीनामा दिँदा उपयुक्त हुने सुझाव पाएका थिए। सोहीअनुसार उनको राजीनामा आउने प्रक्षेपण गरिएको हो। 

यसबाहेक सत्ता सहयात्रीका समर्थन फिर्ता लिने र कांग्रेस–एमाले गठबन्धनमा जाने निर्णयहरू आइरहेका बेला प्रचण्ड अत्यन्त कमजोर स्थितिमा रहन सक्ने पनि बताइएको छ। 

महाधिवेशनमा व्यस्त रहेका कारण नेकपा एकीकृत समाजवादीको निर्णय आएको छैन। तर प्रारम्भिक रुपमा नयाँ गठबन्धनमा जानका लागि उक्त पार्टी इच्छुक देखिएको छैन।

सत्ताको अर्को सहयात्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै भेट गरी राजीनामा दिनका लागि आग्रह गरेको अवस्थामा प्रचण्डलाई नैतिक दबाब पनि परेको छ। यसबाहेक उनले सदन खुलेको बेला राजीनामा नदिए राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गर्दा अझ नैतिक दबाबमा पर्न सक्ने सम्भावना छ। 

उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, अशोक राईको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत नयाँ गठबन्धनको समर्थनमा उत्रिएपछि प्रचण्डलाई राजीनामा दिनुपर्ने नैतिक दबाब सृजना भएको छ। 

प्रचण्डको राजीनामा नआए कांग्रेस एमालेका बहुमत सांसदले हस्ताक्षर बुझाउने तयारी पनि भएको छ। यसकारण पनि प्रचण्डले राजीनामा दिनुको विकल्प नहरेको बताइन्छ। माओवादी प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले पनि प्रचण्डको राजीनामा आउन सक्ने सम्भावना औंल्याएका छन्। तथापि, कानुनविदसँग परामर्श जारी रहेको बताइन्छ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्