Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस–एमाले समीकरणको आन्तर्यः प्रचण्ड युटर्न गर्ने स्थिति आएपछि ओलीले चालेछन् ‘नयाँ कार्ड’

शुक्रबार, असार २१, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य गर्ने समझदारीका आन्तर्यको विस्तारै खुलासा हुन थालेको छ। सत्तामा उथुलपुथुल ल्याउने सार्वजनिक घोषणा गरेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ चाल चाल्नुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ कार्ड फ्याँकेका रहेछन्। 

एमाले महासचिव शंकर पोखरेलको एउटा अन्तरवार्तालाई आधार मान्ने हो भने एमाले–माओवादी समीकरण भत्काएर प्रचण्डले कांग्रेससँग हात बढाउने स्थिति आएपछि त्यसलाई रोक्न शेरबहादुर देउवासँगको बालकोट वार्ता भएको थियो। 

स्मरणीय होस् कम्युनिस्ट घटकका सबै नेता उपस्थित हुने पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा अस्वस्थ्यताको कारण देखाउँदै अनुपस्थित भएका ओलीले असार १५ गते बालकोटमा देउवा दम्पत्तीसँग ३ घन्टा बिताएका थिए। त्यो वार्ताका अनेक सम्भावनाका आँकलन गरे पनि सुइँकोसम्म नदिई त्यसको दुई दिनपछिको मध्यरात कांग्रेस–एमाले समझदारी भएको थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्किएपछि प्रधानमन्त्री प्रचण्डले एमालेसँगको समीकरण भत्काउन खोजेको विषयलाई पोखरेलले सतहमा ल्याएका छन्। त्यो हुनुभन्दा अघि नै एमाले अध्यक्ष ओलीले प्रचण्डको प्रयत्नलाई असफल तुल्याएको उनको खुलासा छ।

भारतमा आम निर्वाचन चलिरहेका बेला यता सत्ता समीकरण भत्किने खतरा देखेपछि प्रचण्डले एमालेसहितको समीकरण तयार पारेका थिए। त्यसबेला प्रधानमन्त्रीमा आफू निरन्तर बाहल रहने चर्चा गरेका प्रचण्डले आफ्नो दलको ३२ सिटलाई जादुयी नम्बरका रुपमा पनि घोषणा गरेका थिए। 

उनले अर्को जादुयी चमत्कार गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको समझदारी बाहिर आयो। यो समझदारीलाई संविधान संशोधनसहितको एजेन्डाका रुपमा पनि व्याख्या गरियो। 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्