Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीद्वारा छापा हानी सुन गाल्ने मेशिन, ५० लाख नगदसहित ५ जना ललितपुरबाट पक्राउ

शुक्रबार, असार २१, २०८१

काठमाडौं– जिल्ला प्रहरी परिसर ललितपुरले एक जना भारतीय नागरिकको फ्ल्याटमा शुक्रबार छापा हानेको छ।

प्रहरीका अनुसार ५० लाख नगदसहित सुन गाल्ने मेशिन बरामद गरिएको छ भने अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको छ।  

भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। 

ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो।

सुन तस्करी प्रकरणको छानबिन चलिरहेका बेला पक्राउ गरिएकाहरूको सम्बन्धका विषयमा पनि केलाउन थालिएको छ। पक्राउ गरिएकालाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्