Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरो, यी राजमार्ग अवरुद्ध

शनिबार, असार २२, २०८१

काठमाडौं - अविरल वर्षासँगै पहिरो जाँदा विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएको छ । गएरतिदेखि देशका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

वर्षाका कारण पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका–८ नर्के आसपासमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । विभिन्न स्थानमा पर्ने खहरेखोलामा लेदो थुप्रिँदा सडक अवरुद्ध भएको हो ।

यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, कालीगण्डकी करिडोरमा पनि पहिरो जाँदा बागलुङ हिँडेका सावारीसाधान बाटोमै रोकिएका छन् । दुई दिनदेखिको निन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै रहेको रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ ।

‘लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन’, प्रहरी नायव उपरीक्षक यादवले भने । वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ ।

यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक पनि अवरुद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुङ्गा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए । सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् ।

यस्तै, गएरतिदेखि लगातारको अविरल वर्षासँगै आएको पहिरोले पाल्पाको सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।
यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक भने एकतर्फी खुलाइएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्