Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले पोखरा जोड्ने सबै सडक अवरुद्ध

शनिबार, असार २२, २०८१

कास्की -गएरातिदेखि अविरल वर्षाका कारण बाढी र पहिरोले पोखरा छिर्ने सबै सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गसहित गण्डकीका प्रमुख सडकहरूमा पहिरो गएको छ ।


पृथ्वी राजमार्गको तनहुँस्थित म्याग्दे–४ मनोहरीमा हिलो भएर ट्रक र बस फसेका छन् । जसका कारण सडक पूर्ण ठप्प भएको गण्डकी प्रहरीले जनाएको छ । यस्तै, सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका–८ स्थित शान्ति, वडा नम्बर १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुडकिल्लामा पहिरो झरेपछि सवारीसाधन आवागमन ठप्प भएको छ ।


यस्तै, बेंसीशहर मनाङ सडक, मालढुंगा बेनी, बेनी दरबाङ र बेनी जोमसोम सडक पहिरोका कारण ठप्प भएको छ । बेंसीशहर चामे सडकको मर्स्याङ्दी ४ हावाडाँडामा पहिरोले बाटो रोकिएको छ ।

मालढुंगा वेनी सडकको कुश्मा–१ मालढुंगामा पहिरो झरेको प्रहरीले जनाएको छ । यस्तै, बेनी जोमसोम सडकको रघुगंगा ३ बैसरीमा लेदोसहित पहिरो आएको छ ।

बेनी दरबाङ सडक खण्डको बेनी ४ घुमाउने भीरमा पहिरो आएको छ । सबै सडकमा प्रहरी खटाएर पहिरो पन्छाउने काम भइरहेको गण्डकी प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्