Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीगण्डकीमा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा

शनिबार, असार २२, २०८१

पर्वत - केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिए ।

कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उनले बताए ।
कालीगण्डकीमा पानीको बहाव बढेपछि
कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका दुई सयबढी व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।

विगत १५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए ।

स्थानीय प्रहरी चौकीका इञ्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । रासस

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्