Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

शनिबार, असार २२, २०८१

काठमाडौं – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो ।

कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्दघाटन खेलमा नेपालले युएईसँग भिड्ने तालिका रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

एशिया कपमा सहभागी हुनु अघि नेपाली टोलीले ३ अभ्यास खेलहरु खेल्नेछ । नेपाली टोलीले श्रीलंका विकास टोली विरुद्ध जुलाई ९, १० र १६ मा ३ खेल खेल्ने क्यानले घोषणा गरेको छ ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर थाइल्याण्ड र नेपाललाई प्रतियोगितामा समावेश गरेको छ । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टि ट्वान्टी एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टि ट्वान्टी प्रतियोगिता रहनेछ ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्