Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौसम बदली पर्सीसम्म निरन्तर, सतर्कता अपनाउन आग्रह

शनिबार, असार २२, २०८१

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको कहर निम्त्याउनेगरी शुक्रबार शुरू भएको मौसम बदली आउँदो सोमबारसम्म जारी रहने पूर्वानुमान गरेको छ ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत्‌ रहने सम्भावना रहेको जनाएको हो ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणदेखि पूर्णतयाः बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा सम्भावना छ ।

भोलि असार २३ गते आइतबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाले अनुमान गरेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

पर्सी असार २४ गते सोमबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिकदेखि साधारणतयाः बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्