राजासँग समझदारी भएपछि डा. बाबुराम भट्टराईलाई नजरबन्दमा राख्ने प्रचण्ड
काठमाडौं– माओवादी युद्धकालमा यसका परिकल्पनाकार डा. बाबुराम भट्टराई घेराबन्दीमा पारिएका थिए। उनको कन्चटमा गोली समेत ताकिएको थियो, माओवादीका छापामारबाट। खासगरी प्रचण्डका बडीगार्डबाट नै यस्तो काम भएको थियो।
यसो हुनुमा दुईवटा कारण थियो।
पहिलो, राजा ज्ञानेन्द्र शाहले सत्ता शासन हातमा लिएपछि माओवादीसँग सहकार्य गर्ने प्रस्तावमा प्रचण्डको सहमति। त्यसका निम्ति दरबारले डा. बाबुराम भट्टराईलाई नजरबन्दमा राखी सहमति गर्नुपर्ने शर्त राखेपछि घेराबन्दीमा पारिएको थियो।
दोस्रो, ७ राजनीतिक दललाई राजाले नजरबन्दमा राख्ने र सत्ताको नेतृत्व प्रचण्डलाई दिने। यसो हुँदा आन्दोलन पनि दबाउन सकिने र राजसंस्थासहित माओवादी सत्तामा आउन सक्ने।
‘बाबुरामले प्रश्न उठाएपछि घेराबन्दीमा पारेर कन्चटमा गोलि पनि ताकियो। तर तत्कालै ठोकिहाल्ने आदेश भएन’, त्यसबेला प्रचण्डनिकट रहेका छापामार भन्छन्,‘फेरि राजनीतिक रुपमा परिस्थिति अलग हुन सक्ने आँकलनबीच बाबुरामलाई निगरानीमा राख्ने निधो भयो।’
यता प्रतिनिधि पुनस्थापनाको माग राखी ७ राजनीतिक दल आन्दोलनमा जाने निर्णय भयो। तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा आन्दोलनको शंखघोष भयो।
यो स्थितिमा पनि खुला राजनीतिमा आउन प्रचण्डले गिरीजाबाबुसँग संवाद कायम राखेका थिए। कतिपय भारतीय कुटनीतिज्ञका पुस्तक मात्र होइन नेपाली राजनीतिका जानकारले पनि यी विषयमा खुलासा गरेका छन्।
यसैले चर्चित माघ १९ को शाही सम्बोधनमा राजा ज्ञानेन्द्रले ७ दललाई गाली गर्दा माओवादीलाई ‘बाटो बिराएकाहरू’ मात्र भनेका थिए। तर नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीबाट भने प्रचण्ड खुला राजनीतिमा आउने बाटो पहिल्याउन सफल भए।
‘हरेक मौकालाई कसरी उपयोग गर्ने भन्नेमा प्रचण्ड निक्कै चलाखीपूर्ण निर्णय गर्छन्’, उनीसन्निकट भन्छन्,‘त्यो एउटा राजनीतिक घटनाक्रम थियो।’
खुला राजनीतिमा आएपछि पनि प्रचण्ड मौकापरस्त सत्तामा रहीरहेका छन्। पछिल्लो पटक भने कांग्रेस र एमाले मिलेका कारण उनी प्रधानमन्त्री पदबाट च्युत भएका छन्। उनले २८ असारमा विश्वासको मत पाउने छैनन्।