Nic Ad Nic Ad
Nic Ad Nic Ad

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : माओवादी

आइतबार, असार २३, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा नआउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए । संवैधानिक प्रावधान अनुसार एक महिना नकुरेर त्यसअगावै हुने गरी यही असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढ्ने बताए ।

‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईँहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने ।

साथै प्रधानमन्त्रीलाई नैतिकताको पाठ नसिकाउन पनि उनको आग्रह छ । सांसद दाहालले अगाडि भने, ‘कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ सिकाइरहन पर्दैन ।’

नेपाली काँग्रेस र नेकपा एमालेले प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउने सहमति भएसँगै दुवै दलको संसदीय दलको बैठकले ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय लिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा काँग्रेस र एमालेका सांसदहरूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई राजीनामा दिन सुझाएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा माग्ने सांसदहरूलाई माओवादी सांसद दाहालले यही असार २८ गतेसम्म पर्खिन भनेका हुन् ।

असार २८ गते प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्