Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न पाउँदैनन्, संविधानको धारामा अल्झिनुको अर्थ छैन, ओली नयाँ प्रधानमन्त्री

आइतबार, असार २३, २०८१

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि अल्पमतको सरकार पदच्युत हुनेछ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। 

सर्वोच्च अदालतले बसालेको नजीरअनुसार प्रचण्डको सरकार ढल्नासाथ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गर्नेछन्। 

प्रतिनिधि सभामा कुनै पनि दलको एकल बहुमत नरहेका कारण दुई वा सोभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्तिको प्रावधान रहने उक्त धारामा उल्लेख छ। 

नेपाली कांग्रेसले बैठक राखी आधिकारिक रुपमा निर्णय गरेको छ,‘एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा प्रस्तावित गरिनेछ।’ कांग्रेस कार्यसम्पादन र संसदीय दलले गरेको उक्त निर्णयलाई एमाले संसदीय दलको बैठकले स्वीकारसहित अनुमोदन गरिसकेको छ। 

यसरी हेर्दा नयाँ प्रधानमन्त्रीमा ओली निर्विकल्प देखिन्छन्। किनकी कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नै प्रक्रिया अघि बढाइनुपर्नेछ। यदि दुई वा सोभन्दा बढी दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्था नरहेको खण्डमा मात्र धारा ७६(३) अनुसार हुने हो। 

नजीरलाई हेर्ने हो भने पनि संसदको तेस्रो दल रहेका माओवादी अध्यक्ष प्रचण्ड आफैं पनि संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। 

उनी एमालेभन्दा ठूलो दलका नेता थिएनन्। यसकारण यो प्रक्रिया पुरानैअनुसार जानेमा शंका नहुने बताइन्छ।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्