Nic Ad Nic Ad
Nic Ad Nic Ad

महान्यायाधिवक्ताले उन्मुक्ति दिएका ४ जना विशेष अदालतबाट दोषी ठहर

आइतबार, असार २३, २०८१

काठमाडौ- दुई वर्षअघि तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा नचल्ने भनी उन्मुक्ति दिएका व्यक्तिहरू सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने काममा संलग्नहरूलाई सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गरेको हो ।

महान्यायाधिवक्ता खातीले बैंकिङ कसुरको आरोपबाट उन्मुक्ति दिएका व्यक्तिहरू विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नक्कली धितो र ऋणका आधारमा गैरकानुनी सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा शोभा शाक्य, रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, कुशन प्रधानलाई दोषी ठहर गरेको हो । विशेष अदालतले आरोपीहरू अनुजमणि तिमिल्सिना र स्मृति जोशीलाई भने सफाइ दिएको छ ।

विशेष अदालतका सदस्य डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर गरेको हो ।

नक्कली कागजातका आधारमा ऋण लिएको र त्यो रकम दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलेको थियो । उनीहरूलाई हुने जरिवाना र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने भन्दै विशेष अदालतले आगामी आइतबार (३० असार)मा पेसी तोकेको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्