Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौतम बुद्ध रंगशालालाई थप १ करोड ८० लाख बजेट निकासा

आइतबार, असार २३, २०८१

बाठमाडौँ -बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आव २०८०र०८१ मा विनियोजन गरिएको रकममध्ये बाँकी रहेको १ करोड ८० लाख रुपैयाँ बजेट तत्काल उपलब्ध गराउने भएको छ ।

आइतबार साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकमा सामाजिक विकास मन्त्रालयबाट प्राप्त एजेन्डाअनुसार उक्त रकम दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले चालु आवमै अघिल्लो पटक ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराइसकेको थियो ।


धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रारम्भ गरेर अलपत्र छाडेको रंगशाला भरतपुर महानगरपालिका, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा निर्माण कार्य अगाडि बढिरहेको छ ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँ बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने गरी बनाइने बताइएको छ । प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै बजेट अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको हो । प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम अगाडि बढाइँदैछ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको थियो । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको गौरवको आयोजनाको रूपमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्